यसरी उदाए सी जिनपिङ : गुफादेखि विश्वकै शक्तिशाली राष्ट्रपतिसम्म

 

फागुन २८ – चीनले राष्ट्रपतिका लागि भएको सीमित कार्यकालको प्रावधान हटाएको छ । योसँगै वर्तमान राष्ट्रपति सी जिनपिङलाई आजीवन राष्ट्रपति बन्ने बाटो खुलेको छ ।

आइतबार नेसनल पिपल्स कंग्रेसको वार्षिक बैठकले राष्ट्रपतिको सीमित कार्यकालको प्रावधान हटाउने प्रस्ताव गरेको थियो । यो प्रस्तावलाई नेसनल पिपल्स कंग्रेसका दुई सदस्य बाहेक सबैले समर्थन गरे । यस प्रस्तावको पक्षमा २९५९ सदस्यले मत हाले भने, दुई जनाले विपक्षमा । त्यस्तै तीन सदस्य भने अनुपस्थित रहेका थिए ।

 

चीनमा सन् १९९० को दशकदेखि नै एक व्यक्ति दुई कार्यकालभन्दा बढी राष्ट्रपति बन्न नपाउने प्रावधान थियो । तर गएको वर्ष भएको कम्युनिस्ट पार्टीको सम्मेलनमा सी जिनपिङले सम्भावित उत्तराधिकारी पेश गर्ने परम्परालाई तोडिदिए । 

यसको प्रमुख कारण सीले आफूलाई राजनीतिक रुपमा शक्तिशाली बनाउन खोजेको बताइन्छ । सत्ताधारी कम्युनिस्ट पार्टीले सीको विचारधारालाई संविधानमै राख्ने फैसला गरेको थियो । सी जिनपिङलाई संविधानमा चीनका पहिला कम्युनिस्ट नेता तथा संस्थापक माओत्से तुङको बराबरको दर्जा दिइएको छ । 

सीको राजनीतिक यात्रा

एक्काइसौँ शताब्दीमा कमै नेता होलान जो गुफामा बसेका हुन् । खेतमा काम गरेका हुन् । अनि सत्ताको शिखरमा पुगेका हुन् ।

पाँच दशक पहिले जब चीनमा सांस्कृतिक क्रान्तिको तुफान आएको थियो, त्यति बेला पन्ध्र वर्षका सी जिनपिङ ग्रामिण भेगमा एकदमै संघर्षपूर्ण जिन्दगी बिताइरहेका थिए । सीको बाल्यकाल उच्च पहाडी क्षेत्रमा बितेको थियो । गृहयुद्धको समयमा कम्युनिस्टको गढ रहेको ठाउँमा सीले खेतीपाती सुरु गरेका थिए । येनानमा मानिस आफ्नो क्षेत्रलाई चीनको लाल क्रान्तिको पवित्र भूमि मान्ने गर्दछन् । 

चीनको सत्तारुढ कम्युनिस्ट पार्टीले राष्ट्रपतिको कार्यकालको सीमा हटाउने निर्णय गरेपछि यसलाई चिनियाँ राजनीतिको एउटा महत्वपूर्ण घडीका रुपमा हेरिएको छ । 

सी जिनपिङले आज यस्तो देशलाई नेतृत्व दिइरहेका छन् कि जुन विश्वमा सुरपावर बनेर उभिँदैछ । सी जिनपिङको व्यक्तिगत जीवनका बारेमा निकै नै काँटछाँट गरेर पेश गरिने गरिएको छ । चीनका अधिकांश ग्रामिण भेगहरु तीव्रताका साथ शहरीकरण भैरहेका छन् । तर राष्ट्रपति सीको गाउँ भने जस्ताको त्यस्तै राखिएको बताइएको छ । कम्युनिस्ट कार्यकर्ताका लागि यो एउटा तीर्थस्थलका रुपमा रहेको छ । 

जमिनी राजनीति

सन् १९६८ मा चेयरमेन माओले निर्देशन दिएपछि लाखौँ युवाहरु शहर छोडेर गाउँ गएका थिए । त्यहाँको कठिन र चुनौतिपूर्ण जीवनबाट उनीहरुले धेरै कुरा सिके । कठिन अवस्थामा पनि कसरी अगाडि बढ्नुपर्छ भन्ने कुरा उनीहरुले किसान र मजदुरबाट सिके । सी जिनपिङले आफूले पनि त्यहीँबाट धेरै कुरा सिकेको बताउँदै आएका छन् । 

सी अक्सर भन्ने गर्छन्, ‘म पहेँलो माटोको छोरा हुँ । मैले दिलोज्यान दिएको थिएँ लियांगजिआहेमा  । त्यसै ठाउँले हो मलाई बनाएको  ।’

सी भन्छन्, ‘जब म लियांजिआहेमा पुगेको थिएँ, त्यतिबेला म पन्ध्र वर्षको थिएँ । म बिन्दास पाराको थिएँ । मैले केही नै बुझिरहेको थिइन । तर म जब २२ वर्ष पुग्दै थिएँ ममा भएका सबै शंकाहरु हट्दै गए, म आत्मविश्वासी बन्दै गएँ र मलाई मेरो जिन्दगीको उद्धेश्य थाहा भइसकेको थियो ।’

त्यति बेला सबैले चेयरमेन माओको सानो रेड बुक पढ्ने गर्थे । अहिले चीनमा चेयरमेन सीका ठूला–ठूला राता होर्डिङ बोर्ड देख्न सकिन्छ । उनको सम्मानमा एउटा संग्रहालय पनि बनाइएको छ । जहाँ सीले किसान तथा मजदुर साथीहरुका लागि के–कस्ता राम्रा काम गरे भन्ने कुराका प्रमाणहरु संग्रहित गरिएका छन् । 

तर यही किस्सालाई पनि काँटछाँट गरेर पेश गरिएको छ । यसबाट सीको वास्तविक जीवन पत्ता लगाउन निकै कठिन हुन्छ । 

राष्ट्रपतिको पाँच वर्षको कार्यकाल सी जिनपिङले निकै नै सफलतापूर्वक बिताए । सी आफूलाई यस्तो जननेताका रुपमा प्रस्तुत गर्छन् कि उनी गल्ली, सडक र गरिबका घरमा पुग्छन् । उनी चीनका मात्रै होइनन्, विश्वकै शक्तिशाली नेतामध्ृये एक हुन् तर उनी भूइँमान्छेका लवजमा कुरा गर्छन् । 

उनी प्रायः विद्यार्थीहरुलाई भन्ने गर्छन्, जिन्दगी एउटा टाँक भएको शर्ट हो, त्यसैले सुरुमै सही तरिकाले टाँक लगाउनु पर्छ । उनी कैयौं पटक खाजाका लागि लाइनमा बसेको पनि देख्न सकिन्छ, उनी आफ्नो खानाको बिल आफै तिर्ने गर्छन् । 

अनुभव
 
तर एउटा मिथक जस्तै छ सी जिनपिङले गुफामा बिताएका सुरुवाति दिनहरु । यी कुरालाई सीले सत्ताबाट अलग गरिदिएका थिए । 

जिनपिङ भन्छन्, ‘जसलाई सत्ताको अनुभव कम छ, उनीहरुले यसलाई नयाँ तथा राजशाही तरिकाले हेर्ने गर्छन् तर मैले यी पर्दाबाहिर पनि एकदमै गहिराईबाट सत्तालाई हेर्ने गर्छु ।’

‘म फूलको माला तथा तालीको गडगडाहटभन्दा पर पुगेर हेर्ने गर्छु, म नजरबन्दवाला घर देख्ने गर्छु, म मानवीय सम्बन्धमा रहेका कमजोरीहरुलाई देख्ने गर्छु । मैले राजनीतिलाई गहिराईबाटै बुझ्ने गर्छु ।’

बाल्यकालदेखि युवाअवस्थामा आउने बेलासम्म सीले दुई प्रकारको जीवन बिताए । उनका बुवा पनि क्रान्तिका हिरो थिए । यस्तोमा सीले  एक राजकुमारको जस्तो जीवन पनि जिउन पाए । 

सन् २००९ मा एउटा अमेरिकी जासुसी संस्थाले सीका एक नजिकका साथीलाई उद्धृत गर्दै सुरुवाति दश वर्षले सीलाई यहाँसम्म पुर्‍याएको बताएका थिए । त्यसप५ जब उनी कम्युनिस्ट क्रान्तिका बेला किसानको बिचमा रहेर काम गरे, त्यसले पनि उनको जीवनमा गहिरो प्रभाव छोड्यो । 

 खतरामा जीवन
साठीको दशकमा चेयरमेन माओले आफ्नै पार्टीका सदस्यहरुमाथि गरेको अन्यायको चपेटामा सी पनि परे । 

पहिले सीका बुवालाई पार्टीबाट निष्काशित गरियो । त्यसपछि उनलाई जेल पठाइयो । सीको परिवार निकै नै लज्जित हुनु पर्यो । उनकी एक बहिनीको पनि मृत्यु भयो । सीकी बहिनीले आत्महत्या गरेको बताइन्छ । सीले १३ वर्षको उमेरमै आफ्नो पढाई छोड्नु पर्यो किनकी बेइजिङमा सबै विद्यालय बन्द गरिएका थिए । यस्तो यस कारणले कि विद्यार्थी आफ्ना शिक्षकको आलोचना गर्न सकून्, पिट्न सकून तथा उनीहरुको हत्या गर्न सकून् । 

परिवार र साथीहरुबिना सी जिनपिङ कैयौं दिनसम्म माओका बदनामा रेड गार्डबाट बच्नका लागि लुक्दै हिँडे ।

एकपल्ट उनले एक रिपोर्टरसँग एउटा एन्काउन्टरको कुरा पनि बताएका थिए । सी जिनपिङले भनेका थिए, ‘म केवल १४ वर्षको थिएँ, रेड गार्डले मलाई सोधे कि तिमी आफ्नो अपराधलाई कति गम्भीरतापूर्व लिन्छौ ?’

‘मैले तिमी आफै अनुमान लगाउ, के यो मलाई मार्नका लागि काफी छ र रु रेड गार्डले भने तिमीलाई हामी सयौं पटक मार्न सक्छौँ ।’

‘मेरो विचारमा एक पटक मर्नु र पटक–पटक मर्नुमा केही फरक छैन ।’

सीका धेरै समकालीन यो मान्छन् कि जब चिनियाँ क्रान्तिका बेला स्कूलहरु बन्द भएका थिए, त्यही समयले नै सीलाई मजबुत बनाएको थियो । 

अध्ययनको भोक

सी जिनपिङ आफूले आफ्ना गल्तीहरु बताउँदा आफूलाई आनन्द महसुस भएको बताउँछन् ।  तर उनी यो पनि भन्छन् कि उनी सबैको कुरालाई गम्भीरतापूर्वक लिँदैनन् । 

साठीको दशकमा चीनको ग्रामिण भेगका नागरिकको जीवन निकै नै संघर्षपूर्ण थियो । गाउँमा बिजुली हुन्थेन । गाउँसम्म जाने बाटो पनि थिएन । 

खेतीका लागि मेसिन थिएन । त्यसै समयमा सीले मल बनाउन, बाँध बनाउन तथा सडक बनाउने काम सिकेका थिए । उनी जुन गुफामा बस्थे, त्यहाँ किरा फट्यांग्राले डेरा जमाएको हुन्थ्यो । त्यहाँ रहेको इँटाको ओछ्यानमा सीसँगै अरु तीन जना पनि सुत्ने गर्थे । खानाका लागि उनलाई दाल तथा केही तरकारी दिइन्थ्यो । 

उनका एक किसान साथी लू हाउशेंगले भनेका थिए कि भोक लाग्दा कसैले यो हेर्दैन थियो कि खानामा के छ । सी रातिमा पानसको उज्यालोमा गुफामा पढ्ने गर्थे । उनलाई पढाईको भोक थियो, त्यसो त उनी चुरोट पनि निकै पिउने गर्थे । 

उनी अक्सर माओको भाषण तथा अखबार पढ्ने गर्थे । किनकी पढ्नका लागि यी बाहेक केही पनि पाइन्थेन । 

सीको महत्वकांक्षा

सीका साथी लूका अनुसार उनी निकै गम्भीर रहन्थे । उनलाई हाँसोमजाक मन पर्थेन । न उनी साथीभाइसँग नै खेल्न जाने गर्थे । 

उनले युवावस्थामा प्रेमिका बनाउन पनि ध्यान दिएनन् । १८ वर्षकै उमेरमा उनले राजनैतिक सियासतको यात्रामा लागेका थिए । उनी कम्युनिस्ट यूथ लिगमा सामेल भए । पटक–पटकको प्रयासपछि उनी २१ वर्षको उमेरमा कम्युनिस्ट पार्टीको सदस्य बने । उनी सधैँ आफ्नो लक्ष्य प्राप्तिका लागि दौडिरहन्थे । जब साथीहरु खेल्नमा व्यस्त हुन्थे, उनी भने काममा लागिरहन्थे । उनी निकै महत्वाकांक्षी थिए । 

कम्युनिस्ट क्रान्तिपछि उनी कट्टर कम्युनिस्ट बने । जब सी २५ वर्षका थिए, उनका बुवालाई पार्टीमा फिर्ता बोलाइयो । उनलाई गुआंगडाँगमा काम गर्न पठाइएको थियो । यो ठाउँ हङकङको नजिमा पर्थ्यो । यो चीनको आर्थिक प्रगतिको पाउवरहाउस बन्यो । 

बुवाको सहयोगले सी जिनपिङले आफ्नो राजनीतिक यात्रलाई तीव्रता दिए । बिस्तारै–बिस्तारै सीले पार्टीमा आफ्नो ठूलै जमात बनाउन सफल भए । सन् १९७० को दशकमा उनी चिनियाँ सेनामा प्रवेश गरे । उनले कम्युनिस्ट पार्टीको शीर्ष नेता बन्ने लक्ष्य त्यति बेला नै राखेका थिए । जीवनका हरेक कदममा उनी यही लक्ष्यका साथ अघि बढे । 

जिनपिङको व्यक्तित्व

सी आफ्नै काममा व्यस्त रहन्थे । उनी निकै अन्तरमुखी स्वभावका थिए । सायद यही कारणले गर्दा एक राजनीतिज्ञकी छोरीसँगको उनको पहिलो विवाह सफल भएन । हो, यसले उनलाई राजनीतिक करिअरलाई अघि बढाउन भने सहयोग पुर्याएको थियो । तर यसभन्दा पहिलेदेखि नै सीले आफ्नो राजनीतिक यात्रालाई अघि बढाएका थिए ।

  

सी पेंग लियुआनसँग विवाह गरेपछि चर्चामा आएका थिए । उनी एक मशहूर गायिका थिइन् । वर्षौँसम्म सीको पहिचान उनकै श्रीमानका रुपमा थियो । सीको राजनीतिक यात्राको सुरुवाति दिनका बारेमा रिपोर्टिङ गर्ने एक सरकारी पत्रकारका अनुसार सी एकदमै निराश देखिन्थे । उनी निकै अन्तरमुखी स्वभावका तर सतर्क रहन्थे । सीले आफ्ना बुवालाई माओले सताएको कुरा देखेका थिए, त्यसैले पनि उनी प्रायः शान्त रहन्थे । ४०–५० को उमेरमा एक सिनियर नेता बने पनि उनी कामसँग निकै लगाव राख्ने गर्थे । 

अनुमान

सन् १९८५ मा सी जिनपिङ केही दिन एलेनोर ड्वोरचोकको घरमा बसेका थिए । उनी उनका छोराको कोठामा सुत्ने गर्थे । भित्तामा ‘स्टार ट्रेक’ चलचित्रको पोस्टर टाँसिएको थियो । एलेनोरको घर अमेरिकाको आयोवा राज्यको मस्केटिन शहरमा रहेको छ । 

जब सन् २०१२ मा सी आयोवा आएका थिए, त्यति बेला एलेनोरले भनेका थिए उनले कल्पनासम्म पनि गरेका थिएनन् कि उनको घरमा आएका एक व्यक्ति कुनै देशको राष्ट्रपति बन्नेछ । 

सन् २०१२ मा सी चीनको कम्युनिस्ट पार्टीको नेता चुनिएका थिए । उनी कम्युनिस्ट पार्टीको विभिन्न तह र तप्का हुँदै आम सहमतिबाट नेता चुनिएका थिए । तर कसैले यो सोचेका थिएनन् कि पाँच वर्षमा सीको यस प्रकारले विश्व राजनीतिमा उदय हुनेछ ।

सबक सिकाए

सन् २०१५ को जुन ११ मा एक जना कपाल तिलचामल भएका व्यक्ति अदालतको कठघरामा उभिएका थिए । उनी ती सुरक्षाकर्मीहरुको घेरामा थिए कि जो पहिले उनकै निर्देशन मान्ने गर्थे । वर्षौँसम्म यी व्यक्ति चीनमा डरका पर्यायवाची थिए ।

 

चीनको प्रहरी उनको नियन्त्रणमा थियो । उनी अर्धसैनिक बल र जेल तथा जासुसी अपरेसनका नेतृत्वकर्ता थिए । 

तर डेढ वर्षमै उनी अदालतमा एक अपराधीको रुपमा उभिएका थिए । अदालतमा उनले आफ्नो अपराध स्वीकार गर्दै सजायको विरुद्ध अपील नगर्ने बताए । उनी थिए चाऊ योङकाङ, चिनियाँ कम्युनिस्ट शासनमा कानुनको सामना गर्ने सबैभन्दा उच्च तहका नेता । चाऊको अलावा बोशीलाई पनि पार्टीको एकतालाई घाटा पुर्‍याउन खोजेको आरोपमा दोषी पाइएको थियो । 

सरकारमा निर्णय

सरकारको शाही खर्च रोक्नका लागि सी जिनपिङले ठूला–ठूला भोजको आयोजना गर्न रोक लगाए । जब सी सत्तामा आएका थिए, उनले जनतासँग एक इमान्दार र स्वच्छ छविको सरकारको वाचा गरेका थिए । उनले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता अपनाउने बताएका थिए । उनले साना ठूला सबै भ्रष्ट नेताहरुलाई कारवाहीको दायरमा ल्याए । उनले यो स्पष्ट पारे कि जो पैसा कमाउन चाहन्छ उ कम्युनिस्ट पार्टीमा नआओस् । 

तर पार्टीमा रहेका झण्डै ९ करोड कार्यकर्तामध्ये धेरैको उद्धेश्य पैसा कमाउने नै देखिन्छ । कम्युनिस्ट पार्टी वर्षौँदेखि घुसखोरी, भ्रष्टाचार तथा नातावादबाटै चल्दै आएको  थियो । यस प्रणालीलाई खत्तम गर्न केही ठूला माछा समातेर मात्रै हुँदैनथ्यो । पार्टीका हरेक नेताकाको कार्यालयको साइजदेखिे नेताका लन्चदेखि डिनरसम्म प्रयोग हुने भाँडाको संख्या पनि तोकिदिए सीले । उनी प्रायः गाउँका मानिससँग भेटघाट गर्न गैरहेका हुन्छन् । 

भ्रष्टाचारविरुद्ध लडाईँ

तमाम प्रयासका बाबजूद पनि सीले पार्टीमा रहेका कैयौं ऐय्यासी नेताबाट आफूलाई अलग गर्न सकेका छैनन् । सी राष्ट्रपति बन्नुभन्दा पहिले नै उनका कैयौं नातेदार करोडपति भैसकेका छन् । तर यसमा सीको हात रहेको प्रमाण भने प्राप्त भएको छैन । 

सीलाई चिनियाँ समाज भ्रष्ट भएको थाहा छ । आरामदायी जीवनको खोजीमा पूरा प्रणालीमाथि नै असर पुगेका पनि उनलाई थाहा छ । उदाहरण चाऊ योङकाङकै दिन सकिन्छ । उनको परिवार खेती किसानी नै गर्दथ्यो । उनीरुको आम्दानीको श्रोत नै माछा समात्ने काम थियो ।  उनको परिवारको ठूलो छोरा इन्जिनियर बनेसँगै सम्पत्ति पनि बढ्यो । त्यसपछि चाऊ भ्रष्टाचारका शक्तिकेन्द्र बन्दै गए । यस चुनौतिलाई चिर्न सीलाई निकै कठिन भयो ।

चाऊलाई अदालतमा उपस्थित गराउनुभन्दा पहिले उनका एक पार्टनरलाई मृत्युदण्ड दिइएको थियो । चाऊका गाउँलेले भने उनलाई गलत सजाय दिइएको बतउँछन् । देशका लागि धेरै काम गरेका चाऊमाथि सीले गलत आरोप लगाएको उनीहरुको आरोप रहेको छ । 

चाऊका बारेमा यो पनि भनिन्छ कि उनी चिनियाँ कम्युनिस्ट पार्टीका सी जिनपिङको विरोधी खेमामा थिए । 

अभियान

पछिल्लो पाँच वर्षमा ठूला नेता तथा कारोबारी अचानक हराएका छन् । 

भनिन्छ कि यीमध्ये धेरै नजरबन्दमा छन् । सन्देश प्रष्ट छ कि सी जिनपिङलाई नटेर्नु मर्नु बराबर हो । भ्रष्टाचारको आरोपमा सीले धेरै नेताहरुलाई पार्टीबाट निकालिदिएका छन् । 

सीका विरोधी तथा बागी नेता गुओ वेंगुई भन्छन् कि सीका नजिकका साथी वाङ किशान आफ्र भ्रष्ट छन् । वाङ भ्रष्टाचारविरुद्ध कारवाही गर्ने संस्थाका प्रमुख पनि हुन् । तर उनले अहिलेसम्म सीमाथि भने सीधै आरोप लगाएका छैनन् । सीको भ्रष्टाचार अभियानका बाबजूद पनि कम्युनिस्ट पार्टी स्वच्छ देखिँदैन । तर प्रणालीलाई स्वच्छ बनाउने सीको चाहनामा भने कुनै कसर बाँकी छैन । 

इन्टरनेटमाथि नियन्त्रण


बाराक ओबामा र सी जिनपिङको एउटा तस्बिरले तहल्का मच्चिएको थियो । जिनपिङ र ओबामाको हिँडाईको तुलना कार्टुनको पात्र विनी द पूसँग गरिएको थियो । त्यही बेलादेखि चीनमा इन्टरनेटमाथि निकै सेन्सर हुँदै आएको छ । यसको विरोध पनि हुँदै आएको छ भने मजाक पनि उडाइँदै आइएको छ । 

चीनमा ७५ करोड व्यक्तिले इन्टरनेटको प्रयोग गर्दछन् । यो संख्या पूरा युरोप र अमेरिकाको भन्दा पनि बढी हो । सी जिनपिङ चीनलाई साइबर सुपरपावर बनाउन चाहन्छन् । 

सी एकातर्फ पार्टीमा नियन्त्रको लडाईँ लडिरहेका छन् भने अर्कोतर्फ इन्टरनेटमाथि पनि नियन्त्रण चाहन्छन् । कानुन र प्रविधिको प्रयोग गर्दै उनले इन्टरनेटमाथि काफी रुपमा प्रतिबन्ध लगाएका छन् । साइबर सुरक्षालाई सी देशको सुरक्षामा मुद्दाका रुपमा हेर्ने गर्छन् । इन्टरनेटको सुविधा दिने र सामाजिक सञ्जालमाथि पनि कडा रुपमा सेन्सर लागू गरिन्छ । चीनमा कोही पनि व्यक्ति नक्कली आइडी बनाएर सामाजिक सञ्जालको प्रयोग गर्न सक्दैन । 

निगरानी 

सी चाहन्छन् चीन एक धनी देश बनोस् । एकजुट बनोस् र शक्तिशाली बनोस् । उनी चीनमा एक पार्टीले नै सरकार चलाओस् भन्ने चाहन्छन् साथै मानिसहरु अनुशासित बनून भन्ने पनि । 

उनी नागरिकलाई इमान्दार र उत्तरदायी बनाउन चाहन्छन् । विश्वविद्यालयमा पार्टीको पहुँच बढाइरहेका छन् । पाठ्यपुस्तकबाट पश्चिमी सभ्यताका निशान मेटाउने काम भैरहेको छ । निजी कम्पनीले पनि पार्टीको सदस्यताको शाखा खोलिरहेका छन् । 

विदेश भ्रमणमा जाने चिनियाँ नागरिकमाथि पनि साइबर सुरक्षा एजेन्सीको निगरानी रहेको हुन्छ । 

सी यस्तो अवस्थामा चीनका राष्ट्रपति बनेका थिए कि त्यति बेला अरब स्प्रिङ उत्कर्षमा पुगेको थियो । त्यसैले सी चीनमा कुनै प्रकारको आन्दोलन हुन नदिन सचेत छन् । 

सीको शक्ति

सी जिनपिङको शक्ति केवल चीनमा मात्रै सीमित रहेको छैन ।

सन् २०१४ मा अष्ट्रेलयाका प्रधानमन्त्री टोनी एबटले जर्मन चान्सलर एन्जेला मर्केललाई आफ्नो चीन नीतिका बारेमा बताएका थिए । एबटले अष्ट्रेलियाको चीनसँगको सबन्ध डर लालचको नभएको बताएका थिए । 

पूरा विश्वलाई नै चीन कति शक्तिशाली छ भन्ने कुरा देखाउन खोजिएको छ । सी चिनियाँ मूलका नागरिकसँग आफू बसेको देशमा चीनको महान इतिहास तथा यसको शक्तिको बारेमा सबैलाई बताउन आग्रह गरिरहेका छन् । वर्तमान समयमा चीनको शक्तिलाई पूरै विश्वले स्वीकारेको छ । 

जब सी सन् २०१५ मा अमेरिका भ्रमणमा गएका थिए, उनीसँग भेट्न एप्पल। माइक्रोसफ्ट, सिस्को तथा अमेजनजस्ता कम्पनीका प्रमुखहरु लाइन लागेका थिए । फेसबुकमाथि चीनमा प्रतिबन्ध छ, फेसबुकका प्रमुख मार्क जुकरबर्गले पनि सीलाई भेटेका थिए । गूगलमाथि पनि चीनमा प्रतिबन्ध लगाइएको छ । गूगलका अधिकारीलाई सीसँगको भेटघाटको निम्तो दिइएन । 

कस्तो सत्ता ?

सी जिनपिङ माओको परम्परालाई अगाडि बढाउन चाहँदैनन् । । उनले चिनियाँ नागरिकसँग चीनलाई धनी र शक्तिशाली बनाउने वाचा गरेका छन् । सत्तामा जनताले चासो दिए भने कति खतरनाक हुन्छ यो उनलाई राम्रोसँग थाहा छ । त्यसैले पनि उनी नागरिकलाई अभिव्यक्तिको धेरै स्वतन्त्रता दिने पक्षमा छैनन् । 

सी जिनपिङले सोभियत संघको पतनबाट पनि धेरै कुरा सिकेका छन् । उनी यो मान्छन् कि सोभियत संघको विघटन आफ्नो उद्धेश्य बिर्सेका कारणले भएको हो । उनीहरु आफ्नो लक्ष्यबाट पछि हटे । एउटा भाषणमा सीले भनेका थिए कि चिनियाँ कम्युनिस्ट पार्टीमा भन्दा सोभियत कम्युनिस्ट पार्टीमा धेरै सदस्य रहेका थिए । तर पनि कसैले विघटन रोक्नलाई प्रयास नगरेको सीको आरोप छ । 

सी जिनपिङ प्रायः आफ्ना नागरिकलाई चिनियाँ मूल्य र मान्यतलाई नबिर्सन आग्रह गर्छन् । उनी भन्छन्, ‘हामी अरुको नक्कल गर्न थाल्यौँ भने आफ्नै पहिचान गुमाउनेछौँ ।’ त्यसैले त उनको विचारधारालाई नयाँ युगमा चिनियाँ विशेषतासहितको समाजवाद नाम दिइएको छ । 

सीको शासनकालमा मुसलमान, इशाई, मजदुर कार्यकर्ता, ब्लगर, पत्रकार, महिलावादी तथा वकिल सबैलाई जेल हालिएको छ । उनी आन्दोलन गर्ने जोसुकैको पनि विपक्षमा छन् । उनी खुलेर सरकारको आलोचना गरेको मन पराउँदैनन् । 

शताब्दीदेखि चीनका बादशाहले देशको शक्तिलाई दुई तरिकाले प्रस्तुत गर्ने कोशिष गर्दै आएका थिए । एकातर्फ चीनको सामरिक शक्ति, अर्कोतर्फ उसको सफ्ट पावर । 

उनीहरु यी दुईबीचमा सन्तुलन बनाउने प्रयास गर्दै आएका थिए । सी पनि यसै गर्दै आएका छन् । 

एकातर्फ उनी चेयरमेन माओको कम्युनिस्ट क्रान्तिको अगाडि शीर झुकाउँछन् भने अर्कातिर देंग सियाओ पिङको आर्थिक क्रान्तिलाई पनि नमन गर्दछन् । 
यसबाट के स्पष्ट हुन्छ भने उनी माक्र्सवादको सम्मान गर्छन् । साथै आर्थिक उदारीकरणको पनि सम्मान गर्छन् । 

चुनौतिका पर्खाल

चीनका बारेमा सिंगापुरका महान नेता ली कुआन यूले भनेका थिए, ‘चीन विश्व इतिहासमा सबैभन्दा ठूलो खेलाडी हो ।’

सन् २०१२ मा सत्तामा आएसँगै सीले चीनलाई विश्व राजनीतिमा सबैभन्दा ठूलो खेलाडी बनाउने वाचा गरेका थिए । चिनियाँ कम्युनिस्ट पार्टीको स्थापनको शतवार्षिकीमा अर्थात सन् २०२१ मा चीन आर्थिक प्रगतिको मामिलामा औसत देश बन्नेछ । त्यस्तै सत्तामा आएको सय वर्ष पूरा हुँदा अर्थात सन् २०४९ सम्म चीन पूर्ण रुपमा विकसित धनी र सबैभन्दा शक्तिशाली देश बन्नेछ । छिट्टै नै चीनको अर्थव्यवस्था अमेरिकाको भन्दा ४० प्रतिशतले वृद्धि हुनेछ । सन् २०४९ सम्ममा खरिदको विषयमा चीनको अर्थव्यवस्था अमेरिकाको भन्दा तीन गुणाले बढ्नेछ ।

 

जब सन् १९७२ मा अमेरिकाका राष्ट्रपतिले चेयरमेन माओसँग भेटघाट गरेका थिए, त्यतिबेला सी एक गुफामा थिए । उनी पानसको बत्तीमा पढ्दै थिए । 
त्यति बेला राष्ट्रपति रिचर्ड निक्सनले भनेका थिए, ‘भविष्यलाई मध्यनजर गर्दै हामी चीनलाई बाँकी देशबाट अलग गरेर हेर्न सक्दैनौँ । नत्र आफ्नो महत्वाकांक्षामा डुबेर चीनले छिमेकीलाई धम्काइ रहनेछ ।’
 

अवसर


पश्चिमा देशले चीनका लागि ढोका खोलेको थियो, सीका पुस्ताका धेरै चिनियाँ नागरिकले देश छोड्ने निर्णय गरेका थिए । तर सीलाई यो थाहा थियो कि देश छाडेर जानेहरुका लागि केही गर्न सकिन्न । उनी विदेशीहरुसँग एकदमै आत्मविश्वासका साथ कुरा गर्छन् र भन्छन्, ‘चीन क्रान्तिको निर्यात गर्दैन । भोकमरी र गरिबीको निर्यात गर्दैन । चीनले तपाईँको टाउको दुखाउने काम पनि गर्दैन । तपाईँलाई अरु के चाहियो ।’  

 

सीले विरासतमा जुन चीन पाए त्यो शक्तिशाली चीन थियो । त्यो चीन आफ्नो शक्तिलाई विश्वसामु प्रस्तुत गर्न चाहन्थ्यो । त्यो मौका भने चीनलाई सी जिनपिङले दिए । 

विवादित दक्षिणी चिनियाँ सागरमा कृतिम टापु बनाएको आरोपदेखि लिएर वान बेल्ट वान रोडको प्रोजेक्टलाई सीले नै अगाडि बढाए । जबसम्म मौका आउँदैन, आफ्नो खुबी देखाउनु हुँदैन भन्ने कुरालाई सीले मनन गरेको देखिन्छ । 

हालसालै एउटा टेलिभिजन वृत्तचित्रमा सीको विदेश नीति उत्कृष्ट भएको देखाइएको थियो । एउटा अर्को टीभी सिरिजमा सीको भ्रष्टाचारविरुद्धको अभियानको गुणगान गाइएको थियो । तर सीसामू अवसर मात्रै होइन, चुनौति पनि छ । 

चमक–धमकभन्दा बाहिर चीनमा आर्थिक समस्या पनि रहेको छ । चीनको विकासको गति बिस्तारै घटिरहेको छ । सरकारमाथि ऋणको बोझ पनि बढिरहेको छ । 
धेरै अर्थशास्त्रीले चीनका लागि सुधारको बाटो अपनाउने समय घर्किँदै गैरहेको बताएका छन् । 

एकातिर वैचारिक एकता कायम भएको देखिन्छ भने अर्कोतर्फ चीनको नयाँ रणनीति र परिवर्तन राजनीतिक परिघटनालाई लिएर अनेक अड्कलबाजी गर्न थालिएको छ । सीभन्दा पहिले पनि चिनियाँ कम्युनिस्ट पार्टीले उतारचडाव झेलेको छ । माओकै समयमा भोकमरीदेखि सांस्कृतिक क्रान्तिसम्मका चुनौति पार गर्दै आएको छ । त्यस्तै सन् १९८९ मा चीनले लोकतान्त्रिक आन्दोलनको सामना गर्यो । 

सी जिनपिङको शासनकालमा तीव्रताका साथ आर्थिक प्रगति गरेको छ । उनले धेरै नेतालाई जेल पठाएका छन् । भ्रष्टाचारविरुद्ध उनको शुन्य सहनशीलता देखिन्छ । 

विरोधीहरुलाई पाखा लगाउँदै चेयरमेन माओपछि यस्तो पहिलो पटक देखिएको छ कि चीनको भविष्य केवल एक जनामा निर्भर देखिएको छ । 

–केरी ग्रेसीले बीबीसीका लागि तयार पारेको यस आलेखलाई उज्यालोका लागि उपेन्द्रराज पाण्डेयले अनुवाद गरेका हुन् । 

 

साभार : उज्यालो अनलाईन

तपाईंको मत