‘चुनौतीबीच काम गरिरहेका छौं’

संखुवासभा— प्रदेश १ मा पर्ने धर्मदेवी नगरपालिका संखुवासभा सदरमुकाम खाँदबारीबाट दक्षिणी पर्छ । यो नगरपालिका कोसी राजमार्गको प्रवेशद्वार हो । यहाँको जनसंख्या १८ हजार ३ सय २५ छ ।

नगरको विकास र जनअपेक्षा पूरा गर्न भइरहेका कामबारे नगरपालिकाका प्रमुख रमेशकुमार जिमीसँग संवाददाता दीपेन्द्र शाक्यले गरेको कुराकानी :

जिम्मेवारी सम्हालेयता कस्तो अनुभव भएको छ ?

जिम्मेवारी बढेको अनुभव भएको छ । काम गर्ने सबालमा चुनौतीहरू पनि छन् । सिंहदरबार घरघरमा भन्ने नारालाई सार्थक बनाउनुपर्ने तर राज्यबाट हिजो जसरी संघीयता कार्यान्वयनको अवधारणमा स्थानीय तहमा समायोजन गरी सञ्चालन गर्नुपर्ने नीति आए पनि यसको व्यवस्थापनमा पक्ष, कर्मचारी व्यवस्थापन जस्ता थुप्रै चुनौतीका कारण काममा समस्या छ । हिजो २० वर्षसम्म कर्मचारीका भरमा चलेको र आज जनप्रतिनिधिको आइसकेको सन्दर्भमा प्रभावकारी ढंगबाट काम सञ्चालन गर्नुपर्ने जिम्मेवारी थपिएको छ ।

अहिलेसम्म भएका कामबारे बताइदिनुस् न ?

नगरका हरेक वडामार्फत आर्थिक बजेट विनियोजन गरी शिक्षा स्वास्थ्य सडक खानेपानी सञ्चारजस्ता गतिविधिहरू सञ्चालन गरेका छौं । प्रत्येक वडामा इन्टरनेटको सुविधा पुर्‍याएर सबै काम आधुनिक प्रविधिको उच्चतम प्रयोग गरी छरितो तरिकाबाट सम्पन्न गर्ने सुरु गरेका छौं । नगरलाई आवश्यक पर्ने ट्रयाक्टर, ब्याकलोडरजस्ता साधन खरिद तथा प्रयोग गरी सरसफाइ तथा विकास निर्माणको काम सुरु भएको छ ।

तपाईंका प्राथमिकता के हुन् ?

नगरपालिका तथा समग्र संखुवासभालाई समृद्ध बनाउने पहिलो प्राथमिकता हुनेछ । यहाँका हरेक स्थानीय स्रोत साधनको उच्चतम प्रयोग गरी आन्तरिक आम्दानी वृद्धि गरी रोजगारीको वातावरण सिर्जना गर्नेछु । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पर्यटन प्रवद्र्धन गरी विकासका काम अघि बढाई समृद्ध धर्मदेवी नगरपालिका बनाउन कोसिस गर्नेछु ।

नगरपालिकाको सम्भावना के–के हुन् ?

यो निकै सम्भावना बोकेको नगरपालिका हो । यहाँ पर्यटन विकास तथा आधुनिक कृषि प्रणाली प्रयोग गरी अलैंची, चिराइतो जस्ता बहुमुल्य जडीबुटी उत्पादन तथा प्रशोधन गरी आधुनिक कृषि प्रविधि अपनाउन सकिनेछ । साथै विद्युत् उत्पादन तथा अत्याधुनिक उद्योगधन्दा निर्माणको सम्भावना पनिउत्तिकै छन् ।

अरू दलका प्रतिनिधिसँग कस्तो समन्वय भइरहेको छ ?

लोकतान्त्रिक प्रमुख भएका कारणले सबैसँग सल्लाह, परामर्शकै आधारमा समन्वय भइरहेको छ । नगरसभामा सबै दलको प्रतिनिधिसँग छलफल गरी बजेट ल्याएँ । अन्य विकास निर्माणका कुरामा पनि छलफल हुनेछ ।

तपाईंको कार्यकाल सकिएपछि नगरको अवस्था कस्तो हुनेछ ?

प्रत्येक वडा कार्यालय तथा वडामा सहज रूपले यातायात सञ्चालन हुनेछन् । प्रत्येक स्वास्थ्य संस्थामा एम्बुलेन्स सेवा हुनेछ । नगरमा छुट्टै ठूलो अस्पताल बनाउन पहल गरिनेछ । आन्तरिक तथा बाहय पर्यटन प्रवद्र्धन गर्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा पर्यटन प्रवद्र्धनमा ठोस काम हुनेछ । भ्रष्टाचारमुक्त नगर हुनेछ । एक घर एक धारा भन्ने अवधारणा साथ खानेपानीको सुविधा प्रदान गरिनेछ । कृषि क्षेत्रलाई आधुनिकीकरण गरी कृषकलाई प्रोत्साहन दिइनेछ ।

तपाईंको मत