मत्स्यपोखरीबाट मच्छिन्द्रनाथको जात्रा निकाल्ने बिषयमा छलफल

तारा ब. बुढाथोकी÷
प्रेम निरौला÷सङ्खुवासभा
    धार्मिक एवम् पर्यटकीय क्षेत्र मत्स्यपोखरीमा मच्छिन्द्रथानको मन्दिर स्थापना गरेर जात्रा निकाल्नु पर्ने बिषयमा छलफल भएको छ । आइतवार
जनै पूर्णिमाको अवसर पारेर त्यहाँ भेला भएका तिर्थयात्री र स्थानीयहरूबीच मच्छिन्द्रथानको बिषयमा छलफल भएको हो । मत्स्यपोखरी संरक्षण समितिका अध्यक्ष टङ्क गुरूङले मच्छिन्द्रनाथको बिषयमा
तिर्थयात्रीहरूबाट धेरै जानकारी आएका कारण निकट भविष्यमा जात्राको तयारी गर्ने बताए । 
    भगवानको पहिलो अवतार  मत्स्यअवतार हो भन्ने धार्मिक मान्यताको आधारमा मत्स्यपोखरीलाई बिशेष धार्मिक
महत्वका साथ हेर्ने गरिएको छ । मत्स्यपोखरीमा परापूर्वकालबाटै प्राकृतिकरूपमा प्रसस्त माछा रहेको र जलदेवताको पुजा हुँदै आएको पाइन्छ । भनिन्छ, पानीको स्थायी स्रोत पहिल्याउँदै पहिलो पटक मत्स्यपोखरी पुगेका मानिसले त्यहाँको पोखरीमा माछा र हाँस फेला पारेका थिए । पोखरीको पानीमा कुनैपनि पात÷कसिङ्गर पर्नासाथ किनारका रूखमा बसेका चराले चुच्चोले च्यापेर कसिङ्गार वाहिर निकाल्थे । मत्स्यपोखरीमा माघे सक्रान्ति, शिवरात्री र मङ्सिरे पूर्णिमामा मेला लाग्दै आएको छ । स्नान गर्नकै लागि त्यहाँसम्म
पुग्ने भक्तजनहरूले भाकल गर्ने र मनोकामना पुरा गर्ने बताउँदै आएका छन् । 
    पछिल्लो समय मत्स्यपोखरी क्षेत्रको बिकाससँगै त्यहाँ पर्यटकहरूको घुइँचो पनि बढ्न थालेको छ । यो बर्षको जनै पूर्णिमामा मात्र त्यहाँ २ सय जना भन्दा बढी तिर्थालु भक्तजनहरू एकैसाथ जम्मा भएको भक्तजन टोलीमा सहभागी सभापोखरी गाउँपालिका वडा नं. २ का ऋषि न्यौपानेले जानकारी गराएका छन् । मत्स्यपोखरीमा जालपादेवीको पुरानो मन्दिर र भगवान शिवको अर्को मन्दिर रहेको छ । आजकाल पोखरीको पुरानो ढुङ्गे पर्खाल जिर्ण हुँदै गएको कारण नयाँ फलामे रेलिङ निर्माण गरिएको छ । पोखरीमा पुगेका भक्तजनहरूका लागि नुहाउँन र पिउँने पानीका लागि ५ वटा धारा निर्माण गरिएको छ । स्थानीयका अनुसार मत्स्यपोखरी क्षेत्रको बिकासका लागि निकट भविष्यमै मच्छिन्द्रनाथको मन्दिर निर्माण गर्ने, मच्छिन्द्रनाथको जात्रा निकाल्ने, सामुदायिक भवन निर्माण गर्ने, एउटा बिशाल माछाको आकृति निर्माण गर्ने, धार्मिक मान्यतामा आधारित मूर्तिहरू निर्माण गर्ने लगायतका लक्ष्य राखिएको छ ।

तपाईंको मत